Friday 13 December 2019

"मेरो आँखामा नेपाल"

उस्तै छ कोशीको कलकल,
र, मधेशको पसिना खलखल,
हरियाली र हसिलो सभ्यतामा,
तलाउको तातो पानी छलछल
मठ र मन्दिरको मसिनो मुस्कानमा,
मख्ख छन् आगन्तुक र पाहुना,
चिसो हावाको न्यानो सिरेटोलाई,
गुन्द्रुक र ढिंडोसंग मुछेर खाउन
तराई झरे पनि, हिमाल चढे पनि,
पुर्व उडे पनि, पश्चिम गुडे पनि,
सधै स्वच्छ र सफा छ मेरो देश,
काली उर्लिए पनि, कर्णाली कुर्लिए पनि
चन्द्रमा चुमेका सगरमाथा होस् चाहे सैपाल,
यस्तै छ मेरो आँखामा मेरो नेपाल!

मिलेर बसेका छन् हिन्दू, मुसलमान, क्रिस्टियन र सिख,
कसैले कसैको गर्दैनन् आरिस्, घमण्ड र ईख,
सारा संसारले मेरो देश नियालेको छ,
सबैले सिक्नैपर्छ नेपालबाट अब यो शान्तिको सिक
चार जात छत्तीस वर्णले विश्वलाई पुकार्दै छ,
"अतिथि देवो भवः"को गुणगान र महिमा संसारलाई सुनाउदै छ,
सबैले नेपालमा नौलोपनको आभाष गरून्,
"नेपाल भ्रमण बर्ष २०२०"ले सम्पूर्ण देशको दैलो ढक्ढक्याउदै छ
काठमाडौं, जनकपुर, मुस्ताङ होस् या पोखरा,
सबै ठाउँ घुमाउने छौं चाहे टापु होस् या चुचुरा,
एकै स्वरले सम्पूर्णलाई आव्हान गर्दै छौँ हामी,
उत्साहित छौँ स्वागत गर्न सिकाउँदै नमस्कार र कखरा
सबैको मनमा बसेको सुन्दर, शान्त, विशाल,
यस्तै छ मेरो आँखामा मेरो नेपाल!

चन्द्रमा चुमेका सगरमाथा होस् चाहे सैपाल,
सबैको मनमा बसेको सुन्दर, शान्त, विशाल,
यस्तै छ मेरो आँखामा मेरो नेपाल!

© प्रतीक घिमिरे

Tuesday 12 November 2019

"जिन्दगीका पाईलाहरु"

बसिरहँदा पनि चलिरहने यि जिन्दगीका पाईलाहरु,
न त घाम भन्छन् न‌ त पानी,
न‌ त थकाइ फेर्छन् न त बानी

उराठलाग्दा अध्यारो दिनहरूमा पनि हिँडिरहन्छन्,
उज्याला जुनेली रातहरूमा पनि कुदिरहन्छन्,
सिमसिमे झरिमा पनि दुगुरिरहन्छन्,
जबसम्म कला चट्याङले सेता बत्ती बाल्दैनन्,
तबसम्म कुरिरहन्छन्,
मेरा यि जिन्दगीका पाईलाहरु म बसिरहँदा पनि चलिरहन्छन्

भौतारिरहेको जिन्दगीमा धेरथोर ठेस लाग्दा,
कतिका पछि म भागे,
कति मेरा पछि लागे,
पिल्सिदै गएका ति ठेस लागेका घाउ टन्किदा,
दिनभरि मन रुवाए र रातभरि आँखा रसाए,
धेरै उतारचढाव टेकेका मेरा जिन्दगीका पाईलाहरु,
घरि काँडामा पनि रमाए, घरि फुलमा पनि हराए,
मेरा जिन्दगीका पाईलाहरु म बसे पनि आफु एक्लै हिँडिरहे

कहिले घुम ओढेर हिँडे,
कहिले कुम बोकेर हिँडे,
उकालाका गहिराइहरू पनि चढे,
ओरालाका उचाईहरू पनि झरे,
मेरा जिन्दगीका यि साहसी पाईलाहरु,
अमर छाप छोड्दै अनकन्टारमा अल्मलाए,
सहनै नसक्ने भएका जिन्दगीका पाईलाहरु,
मेरा पैतालाका डोबहरू मै पातलिए

बसिरहँदा पनि चलिरहने यि जिन्दगीका पाईलाहरु,
न त घाम भन्छन् न‌ त पानी,
न‌ त थकाइ फेर्छन् न त बानी

© प्रतीक घिमिरे

Sunday 15 September 2019

"आत्महत्या"

यो आत्मियता हराएको संसारमा आत्महत्या नगरी बाँच्न कसलाई पो मन छ होला र?
तर हामी त यो संसारलाई सजाउँदै सङ्घर्षी समय सिलाउदै हिडि रहेको छौँ

तिमी रोयौं तर किन?
तिमी रोयौं तर किन यस्तो रोकथाम खोज्यौ जस्ले अरू सबैलाई रुवायो,
तिमी मर्यौ तर किन यस्तो मदहोस बनायौ जस्ले अरू बाँच्दा बाँच्दै मर्न बाध्य भए

बुझ्छु तिमीलाई बाँच्न गाह्रो थियो होला,
अरूलाई बाँच्न सिकाउँने कति योद्धा त मरेर गए,
बुझ्छु तिमीलाई बाँच्न गाह्रो थियो होला,
तर कत्रो आँट देखायौ कि आफ्नै आत्माको हत्या आफैँले गर्यौ,
बुझ्छु तिमीलाई सहन गाह्रो थियो होला,
तर कत्रो साहस देखायौ कि आफ्नै शरीरको सलामी आफैले चढायौ

मैले भनेको थिएँ,
नसोधी आउनेले भन्दा नसोधी जानेले धेरै पिडा दिन्छन् भनेर,
तिमी आउदा त नसोधी आएको थियौ,
संगै कति उज्यालो ल्याएको थियौ,
अहिले जाँदा कसैलाई नसोधी सुटुक्क गयौ,
संगै कतिको उज्यालो लिएरै गयौ

किन सोचेनौ?
किन सोचेनौ तिमी नहुँदा तिम्रो आमाको काख कसले भर्छ भनेर,
किन सोचेनौ तिमी नहुँदा तिम्रो बाबाको काध कसले थाम्छ भनेर,
किन सोचेनौ तिमी नहुँदा तिम्रो साथीको साथ कसले समाउँछ भनेर,
किन सोचेनौ तिमी नहुँदा तिम्रो प्रेमीको प्रेम कसले पुकार्छ भनेर

बाँच्न त सजिलो छैन तर मर्न चै' गाह्रो भएन होला र?
आफुले आफैलाई चोट पुर्याउन त सकिँदैन,
तिमीले कसरी आफ्नो देहलाई सधैको लागि आफैले दबायौ?
तिमीलाई सबैले कातर भने होला,
तर सलाम छ तिम्रा ति सङ्घर्ष बिरोधी साहसहरुमा,
हृदय देखि सलाम छ!

साथ नपाए आऊ तिम्रो सारथी म बन्ने छु,
हात नपाए आऊ तिम्रो हितैषी म हुने छु,
आऊ संगै समस्यालाई साँघुरो बनाऔं,
तिम्रो सुखमा म मात्ने छु,
तिम्रो दु:ख म साट्ने छु

यो आत्मियता हराएको संसारमा आत्महत्या नगरी बाँच्न कसलाई पो मन छ होला र?
तर हामी त यो संसारलाई सजाउँदै सङ्घर्षी समय सिलाउदै हिडि रहेको छौँ

© प्रतीक घिमिरे

Saturday 24 August 2019

"म तिमीलाई सम्झन्छु"

समर्पित: स्व. क. रविन्द्र अधिकारी

"दाइ कार्ड छ है!" भनेर ४५% छुट माग्दा म तिमीलाई सम्झन्छु
यातायातको सिन्डिकेट हटेर स्वतन्त्र बस चढ्दा म तिमीलाई सम्झन्छु

European Union ले नेपाली आकाशलाई कालो सुचिबाट हटाउँदा म तिमीलाई सम्झन्छु
भोलि पोखराबाट पुर्व पश्चिम युरोप उड्दा म तिमीलाई सम्झन्छु

जानकी मन्दिर विश्व सम्पदा सूचीमा अटाउदा म तिमीलाई सम्झन्छु
नेपाली संस्कृति र परम्पराले फड्को मार्दा म तिमीलाई सम्झन्छु

Wide Body मा मुछियौ तिमी तर भन्यौं पुष्टि होस् राजनिती छोड्दिन्छु
Visit Nepal 2020 मा सबैले साथ दिऔं भन्यौं देश २० लाख पर्यटकले भर्दिन्छु

पर्यटन र उड्डयनमा सुधार आउदा म तिमीलाई सम्झन्छु
तिम्रो मृत्युमा म त रून‌ पनि सकिन मात्र एउटा गजल लेख्दिन्छु

© प्रतीक घिमिरे

Wednesday 14 August 2019

"सायरी Series"

रमाइलो जिन्दगीमा रौनक छरियो
उनलाई देख्दा मुटु भरि माया भरियो
जीवनको मुख्य मजा त बल्ल बुझेँ
एकै नजरमा मेरो दिल भयो Garden Garden हरियो

घरि घरि नबोलेर सताई कान्छीले
Message मै Hello/Hi भन्दै फकाई कान्छीले
उसको पनि प्रेम गर्ने अनौठो तरिका रहेछ
मेरो दिलमा आफ्नै डेरा बसाई कान्छीले

म र तिमी हामी भैदिए
मेरो र तिम्रो हाम्रो भैदिए
जिन्दगीमा अरू के नै चाहिन्थ्यो र?
मात्र हामी दुई र हाम्रो दुई भैदिए

बनमा सिकार गर्छु कान्छी मलाई सिकारी नभन्नु
तिमीलाई अरूले हेर्दा ईख गर्छु कान्छी मलाई ईखारी नभन्नु
प्रेमले गर्दा धेरै नै हेपिएको छु म
अझै पनि तिम्रो माया माग्छु कान्छी मलाई भिखारी नभन्नु

बिरानो ठाउँमा यो भिडहरूको माझमा
रमाउँथे तिमीलाई सम्झी गोधुली त्यो साँझमा
मन लाग्दा माया गर्यौ नलाग्दा छोडी गयौ
गुलाम भएछु कान्छी तिम्रो एकलौटी यो राजमा

दियो पनि निभ्यो जब तेल सकियो
यसै गरि जिन्दगीको एउटा खेल सकियो
म हाँस्दा हास्ने म रुँदा रुँने उसको आदत
एक समय खुब चल्यो अचेल सकियो

देश बदल्ने टोलीको पछि म पनि हुनेछु हिस्सा
राजनीतिमा लाग्ने केटा मन पर्दैन भनि तिमी हाँसेर गयौ खिस्स
हेर्दै जाऊ एक दिन म पनि देशको उच्च ओहोदामा पुग्ने छु
त्यति बेला तिमी मात्र हुनेछौ मेरो जिन्दगीको एक किस्सा

© प्रतीक घिमिरे

Tuesday 13 August 2019

"बलात्कार"

तुहिनु पर्ने कोखले भूईं छोएछ
छोरी भएरै होला आज संसार रोएछ

फेरि पनि पत्रिकामा समाचार आएछ
बलात्कारको बुलेटिन मस्त छाएछ

आफन्तको यहाँ नजर गढिएछ
प्रहरी त मुख्य दोषी ठहरिएछ

६ महिनाकी शिशुको योनी फुटेछ
काल पर्खेकी हजुरआमाको विश्वास टुटेछ

रक्षक पनि हेर भक्षक बनेछ
कानुनले नै वाह! कानुन तोडेछ

मन भएकी चेलीको तन खोसिएछ
नामर्दहरूको आट यसरी नै पोसिएछ

समाज पनि यहाँ मौन बसेछ
उल्टै पिडित चेलीलाई दोष दिएछ

अझै पनि पुरूषार्थ्वको घमण्ड गरेछ
खै कुन मर्दपनको जोस अवला नारीमा पोखेछ

दाइत्व हैन उसले मौका ठानेछ
एकान्तमा घेरि आफ्नो दादागिरी छानेछ

सतीले सरापेको देश आज बलात्कृत नारीको बनेछ
सरकार अझै पनि ब्यस्त रमित हेरेछ

फेरि पनि पत्रिकामा समाचार आएछ
बलात्कारको बुलेटिन मस्त छाएछ

तुहिनु पर्ने कोखले भूईं छोएछ
छोरी भएरै होला आज संसार रोएछ

© प्रतीक घिमिरे

"स्वर्गको राजधानी"

नमरि स्वर्ग देखिन्न रे
तर म त स्वयं स्वर्ग मै जन्मेको छु
स्वर्गको स्पर्श गर्न मान्छे विश्व धाउँछन् रे
तर म त यसको स्वर्णिम आनन्द लिन नेपाल मै बसेको छु

तर म अभागी छु नि
स्वर्गमा बसेर यसको राजधानीको सयर गर्न मैले पाएको छैन
म अभागी छु
नेपालमा बसेर पोखरामा मेरो मन पोख्न मैले पाएको छैन
बाध्यता हैन यो एउटा डर हो
कहीँ म पोखराको पखेंटामा लट्पटिएर लुप्त भए भने

यो त मात्र एउटा बाहाना हो
मलाई रहर छ
पोखराका तालहरूमा मेरा कैयौं सपना सहित डुबुल्की हान्ने
मलाई रहर छ
सिमसिमे पानीमा पोखराको मौसम जस्तै मेरो जवानी बदल्ने
मलाई रहर छ
पोखराका हिमालहरू झैं मेरो सपना पनि गगन चुम्बि बनाउने
मलाई एकदमै रहर छ

कहिले पाउँछु होला मैले
यो स्वर्गको राजधानीको सयर गर्न
कहिले पाउँछु होला मैले
बेगनास र फेवामा जिन्दगीको डुङ्गा खियाउन
कहिले पाउँछु होला मैले
साराङ्कोटको सुर्योदयमा आफु रमाउन
कहिले पाउँछु होला मैले

अहिले नै पुगौं पुगौं जस्तो भईसक्यो
प्याराग्लाईडिङ गर्दै पोखराको आकाश आफ्नो बनाउन
महेन्द्र गुफाको अध्यारोमा आफ्नो मनलाई बहकाउन
डेभिड फल्सको त्यो गहिरो खोँचमा आफ्नो कर्तुतहरु बगाउन
मलाई अहिले नै पुगौं पुगौं जस्तो भईसक्यो
शान्ति स्तुपाबाट नेपालमा शान्ति सन्देश फैलाउन
मलाई अहिले नै पुगौं पुगौं जस्तो भईसक्यो

नमरि स्वर्ग देखिन्न रे
तर म त स्वयं स्वर्ग मै जन्मेको छु
स्वर्गको स्पर्श गर्न मान्छे विश्व धाउँछन् रे
तर म त यसको स्वर्णिम आनन्द लिन नेपाल मै बसेको छु

© प्रतीक घिमिरे

"युवा"

चालीस कटेका राजनीतिक युवाले लथालिङ्ग फालेको मेरो देश
अब हामी कल्कलाउँदा कोपिला युवाले लटरम्म फलाउनु पर्छ

युग बदल्ने सामर्थ्य बोकेको युवा
आज आफ्नो देश बदल्न नसकेर
अर्काको देशमा दासी बनेको छ

करोडौँको रेमिट्यान्स भित्र्याउन सक्ने युवा
आज अर्काको देशमा
ज्यानको बाजी जित्न नसकेर
कालो काठको बाकसमा कुण्ठिएको छ

पढ्न‌ भनेर अमेरिका, अस्ट्रेलिया गएका मेरा देशका युवा
आज ग्रिनकार्ड र पिआरको लोभमा
नेपालको नागरिकता नष्ट गर्न‌ लाचार भएको छ

हे नेपालका नौजवान हो,
तिमी विदेश जाऊ तर फर्केर आउ
त्यति बेलै फर्क जब तिमी मुलुकको मुहार फर्काउन सक्छौ
त्यति बेलै फर्क जब तिमी मुलुकको मुहार फेर्न सक्छौ
मेरो जन्मस्थल प्यारो भन्दै मर्ने बेला हरियो काक्रो खान नआउ
बुढेसकालमा जीवनको भारी बिसाउन नेपाललाई बाझो बारी नबनाउ
तिमी सिप सिकेर आउ
तिमी ज्ञान लिएर आउ
बनि सकेका मुलुक बनाएर के गर्छौ? आउ अब हाम्रो मुलुकको मुल्य बढाउ

तिमी गरेर त हेर
आफ्नै देशमा बसेर त हेर
कस्ले भन्छ परिवर्तन सम्भव छैन भनेर?
मलाई विश्वास छ मेरा युवाका तराई जत्रा विशाल सोचाइहरूमा
मलाई विश्वास छ मेरा युवाका पहाड जस्ता अटल दृढ संकल्पहरूमा
मलाई विश्वास छ मेरा युवाका हिमाल जस्ता गगन चुम्बी सपनाहरूमा
मलाई विश्वास छ मेरो देशको यो सिङ्गो युवा पिँढीमा

तिमी परिवर्तन चाहन्छौँ
त्यसैले,
तिमी केही सँग नडराउ
तिमी कोही सँग नडराउ
स्वर्गको स्पर्श गर्न मन छ भने
तिमी मर्न पनि नडराउ
सपना साकार पार्न मन छ भने
तिमी लड्न पनि नडराउ

हाम्रो मस्तिष्कमा मेची देखि महाकाली लुकेको छ
हाम्रो मुटुमा चन्द्र र सूर्य झुल्केको छ
आउ यो बुद्धको देशमा शान्ति फैलाउ
आउ यो सीताको देशको चरित्र बनाउ
आउ यो सगरमाथाको देशको शिर ठड्याउ
आउ सबै मिली यो मुलुकको मुहार मौलाउ

तिमी राजनितीमा आउ
तिमी देश हल्लाउ
फोहोर भनिएको राजनितीलाई
तिमी फराकिलो बनाउ
एउटा युवाको माग एउटा युवाले नै बुझ्न सक्छ
यो भष्ट्रै भष्ट्रको बिचबाट तिमी एउटा भरोसा उदाउ
बन्द बाट हैन तिमी Ballot बाट देश बनाऊ

त्यसैले,
चालीस कटेका राजनीतिक युवाले लथालिङ्ग फालेको मेरो देश
अब हामी कल्कलाउँदा कोपिला युवाले लटरम्म फलाउनु पर्छ
अर्काको भरमा बाँचेको मेरो देश
अब सबै युवा मिली आत्मनिर्भर बनाउनै पर्छ
अब सबै युवा मिली आत्मनिर्भर बनाउनै पर्छ

© प्रतीक घिमिरे

"माफी चाहन्छु"


मेरो आँखामा खुसीका आँसु ल्याउनको निम्ति,
मेरा बाबामामु बिगत अठ्ठार वर्ष देखि,
आफ्ना दु:खका आँसु आँखामै दबाई रहनुभएको छ

एक्लो सन्तान,
खुसीको माहोल,
मेरो सबै चाहना पुरा गर्दिने बाबामामुको सोंच,
र बद्लामा,
बाबामामुको सबै सपना सांचो बनाइदिने मेरो प्रतिबद्धता,
कास! मेरो प्रतिबद्धता मैले पुरा गर्न सकेको भए

सानो छँदा: Pilot बन्ने इच्छा,
कहिले हवाईजहाजको Height मा नहराएका मेरा बाबामामु,
पछि छोराले उडाएको आकाशमा,
सुर्य उदाउने क्षितिज सम्म उडिरहने सपना बुनी रहेका हुन्थे,
म पनि तोते बोलीमा "हजुरहरूलाई त म सित्तैमा उडाइ हाल्छु नि!" भन्दै मख्ख पार्ने गर्थें,
तर कास! मेरा ति तोते बोली बादलको तालमा तैरिन सकेको भए

हुर्किदै गएं: Engineer बन्ने होडमा पो हराएं,
सुब्बाको सामान्य सरकारी तलबमा टिकेको हाम्रो परिवार,
भाडाको सानो साँघुरो कोठाबाट,
मेरो बाबामामु,
छोराले Design गरेको आफ्नै महलमा थकान मेटाउने माहोलको प्रतिक्षा गर्दै बसे,
कास! मैले त्यो प्रतिक्षा पुरा गर्न सकेको भए

त्यैपनि,
मेरो आँखामा खुसीका आँसु ल्याउनको निम्ति,
मेरा बाबामामु बिगत अठ्ठार वर्ष देखि,
आफ्ना दु:खका आँसु आँखामै दबाई रहनुभएको छ

Cricket: कुनै बेला मेरो जिवनको अभिन्न अङ्ग थियो,
मेरो इच्छा भए पनि मैले बुझिसकेको थिएँ,
Pilot/Engineer मेरो निम्ति थिएन,
तर मेरो बाबामामुको त्याग र सामाजिक इज्जत सामु,
मसँग अरु कुनै अभ्यास थिएन,
तर कास! यो चोटी बाबामामुको मन दुखाउदै मैले मेरो मनको कुरा सुनेको भए

मैले धेरै सोच्न थालिसकें,
म अब पागल हुन लागिसकें,
SLC मा A+ ल्याए पनि जिन्दगीमा घुँडा टेकेर बस्न बाध्य भैसकें,
सामाजिक भूगोलको भूमरीमा म मज्जाले भासिसकें,
मेरो मनको म खोज्दाखोज्दै मेरा आत्मबलले आत्महत्या गरिसकें,
जीवनमा नसोधी आउनेले भन्दा नसोधी जानेले धेरै महत्व राख्छन रे,
तर म त मेरो महत्वकांक्षालाई मनाउदा मनाउदै मरिसकें

मेरो केही गल्ती थिएन,
गल्छीको गुलियो गांजा तान्नु बाहेक मसँग केही मौका थिएन,
म त देश बदल्न आएको मान्छे,
आकाशमा उड्ने मेरो औकात थिएन,
समाजको मन भर्दा भर्दै मैले मेरो मन मरेको पत्तै पाईन,
म त आफ्नो जिन्दगीबाट हारेको मान्छे,
बाबामामुको मन जित्न कहिले सकिन,
कास! मैले मेरो जिन्दगी जित्न सकेको भए

यति भैसक्दा पनि,
मात्र मेरो आँखामा खुसीका आँसु ल्याउनको निम्ति,
मेरा बाबामामु बिगत अठ्ठार वर्ष देखि,
आफ्ना दु:खका आँसु आँखामै दबाई रहनुभएको छ

म माफी चाहन्छु: मैले मेरो प्रतिबद्धता पुरा गर्न सकिन,
मैले मेरो बाबामामुको प्रतिक्षा पुरा गर्न सकिन,
म आफै सँग माफी चाहन्छु; मैले मेरो मनको कुरा मान्न सकिन,
मैले मेरो जिन्दगी जित्न सकिन,
सर्वस्व सुम्पिएर सुम्सुम्याउदै हुर्काएको छोरो,
आज केही गर्न नसकि,
मनका मैला मेटाउन मनगढन्ते कविता लेख्दै छ,
म माफी चाहन्छु बाबामामु किनकी म माफीको योग्य नै छैन

अब मेरो निम्ति कसैले मन दुखाउनु पर्दैन,
म त समाज सुधार्न आएको मान्छे,
आकाशमा नउडेर के भो र?
महलमा नसुतेर के भो र?
सन्तानलाई संसार देखाउनु नै सबै कुरा हो भने,
मैले पनि बेश्यालयको बाँझो बारीमा,
कति बिऊको बर्षा गराएं होला,
धन्यवाद छ बाबामामु‍: मलाई समाजको सेवा गर्न संसार देखाउनु भएकोमा

संसारको सर्वोत्कृष्ट खुसी नै बाबामामु हुन्,
त्यसैले नचिताए पनि उहाँहरूको चित्त कहिले नचोर्दिनु,
स-साना खुसीमा रमाउनेलाई ठूल्ठूला ठट्यौली आशा कहिले नदेखाउनु,
उहाँहरू त हाम्रो निम्ति हारेको मान्छे,
आफ्नो जीतको धाक कहिले नदेखाउनु,
मात्र गएर अङ्गाली दिए पुग्छ,
किनकी यो एक अङ्गालो मायाले,
ति दबिएका दु:खका आँसु खुसीको खोलामा बगाईदिने छन्

र सायद यही दिन आउँछ भनेरै होला,
मेरो आँखामा खुसीका आँसु ल्याउनको निम्ति,
मेरा बाबामामु बिगत अठ्ठार वर्ष देखि,
आफ्ना दु:खका आँसु आँखामै दबाई रहनुभएको थियो


© प्रतीक घिमिरे

"काली"

काली गए गोरी आउने चलनले गर्दा पो रहेछ,
आकाशका काला तारा खस्दा पनि म मेरी कालीलाई नसम्झी गोरा सपना देखि रहदो रहेछु

पात्र एक, परिस्थिती अनेक
समय एक, सन्दर्भ अनेक
मायालु एक, माया अनेक
अनि, त्यही अनेक मायाले ल्याउने आँसु पनि अनेक,
हर्षका आँसु र हरेषका आँसु,
तर फेरी अनेक आँसुको अभिभावक त्यही एक

माया: शुरू शुरूमा माया रमाईलो जस्तो लाग्थ्यो,
बिस्तारै त्यो रमाईलो रहर बन्दै गयो,
अनि आज त्यही रहर रहस्य भएको छ,
मायाको मजाक उडाउने मान्छे त्यही मायामा मद्होस भएको छ,
त्यही मद्होसलाई मोहनी मानेर मायाको नाममा मरिरहेको छ,
शुरू शुरूमा मायालाई रमाईलो मान्ने मान्छे त्यही मायामा मरिरहेको छ,
यही रहेछ माया

हल्लामा हल्ली रहेको म हावा पनि अचेल मायामा हराईरहेको थिएँ,
वास्तै नगरी बिन्दास बस्ने मान्छे अचेल बेग्लै पारामा बाँचिरहेको थिएँ,
अनि यो सबै मायाको लक्षण हो भन्दै थिए साथीहरू,
मख्ख थिएँ म पनि, तर कुनै त्यस्तो कारण थिएन,
मात्र एउटी मोरीलाई मन पराएको थिएँ जुन मेरो औकातमा थिएन

त्यसैले होला,
काली गए गोरी आउने चलनले गर्दा,
आकाशका काला तारा खस्दा पनि म मेरी कालीलाई नसम्झी गोरा सपना देखि रहदो रहेछु

सपना देख्ने गर्थेँ, हामी सगैँ भएको, तर
पछि थाहा पाएँ,
सपना कहिले साँचो हुँदो रहेनछ भनेर,
पछि थाहा पाएँ,
सपना संध्यामा सुतेको बेला मात्रै सजिलै सजिदो रहेछ भनेर,
यो सपनालाई म के को संघ्या दिऊँ, म नै स्तब्द छु,
किनभने चोखो मायाको नाम दिदैँ मैले जीवन नै सपनालाई सुम्पिसकेको छु

कसरी भुल्छु होला, यिनै हात हुन्,
कुनै दिन तिमीलाई अङ्गालेको हुन्थीएँ,
अनि आज यिनै हात हुन् तिमीलाई भूलाउन दारू सम्हालेको हुन्छु,
थाहा छ मलाई, म गतल पाटोबाट गन्तब्यको बाटो खोजिरहेको छु,
तर थाहा हुदाँ हुदै पनि म केही गर्न सक्दिन किनभने मैले मेरी काली मै कालो भविष्य कल्पना गरिरहेको छु

काली, म तिमीलाई धन्य ठानौँ कि धन्यवाद दिएर मेरो ध्यानबाट निकालौँ?
म नै ढलपलमा छु,
धन्य छौ तिमी, कुनै दिन कसमले मेरो कुलत कटायौ,
अनि धन्यवाद छ तिमीलाई आजको दिन त्यही कुलतमा कुधिएर तिम्रै कसम काट्ने बनायौ,
धन्य छौ तिमी त्यसैले धन्यवाद छ तिमीलाई,
म अब गलिसकेको छु, त्यसैले गोसाईकुण्ड जस्तो गहिरो मायाबाट तिमीलाई गाईको पवित्र गोबरमा गाभिरहेको छु

यहि कारण पनि भयो अनि,
काली गए गोरी आउने चलनले गर्दा,
आकाशका काला तारा खस्दा पनि म मेरी कालीलाई नसम्झी गोरा सपना देखि रहदो रहेछु

सल्लाह मानेर सुने पनि हुन्छ अथवा हल्ला मानेर भूले पनि हुन्छ,
तर सकेसम्म बिचार मानेर बुझिदिए नै हुन्छ,
भन्दै छु म, फेरी पनि भावनामा डुब्दै छु म,
मायाको मझेरीमा मुछिएर कहिले पनि भविष्यको मन्जिल नभूल्नु किनभने,
मायाले मोह बढाउदो रहेछ तर त्यही मोह मारेर मध्यरातमा पनि उदाउन कहिले सिकाउदो रहेनछ,
त्यसैले भूल्दै छु म, दारू सगँ मिसाएर तिम्रो नशा भूलाउँदै छु म

मलाई अब केही पनि गुनासो छैन,
न त कुनै पिडा नै छ,
मख्ख छु, ढुक्क छु र भाग्यमानि पनि,
काली सगैँ मनका काला कत्ला कटाईरहेको छु,
करामत देखाउँदै काली सँगको सम्बन्ध कहाली लाग्दो बनाईरहेको छु,
र कालीको सबै कसम भूलेर गोरीको गहिराईमा गुमिरहेको छु

अचेल त मेरा काला सपना पनि Powder नघसी गोरा हुन थालेका छन्,
मेरा छाँया पनि छहारी खोज्दै छरिता हुन थालेका छन्,
काला बादलका काला ताराहरू पनि मुसुक्क हास्न थालेका छन्,
सायद उनि गोली भएरै होला,
मेरा जीवनका सबै अन्धकार झलमल्ल बल्न थालेका छन्,
नयाँ बाहार र उमङ्ग आएर होला,
दाँत र नङ समेत सेताम्य फुल्न थालिसकेका छन्

यी सबै कुराहरूले होला,
काली गए गोरी आउने चलनले गर्दा,
आकाशका काला तारा खस्दा पनि म मेरी कालीलाई नसम्झी गोरा सपना देखि रहदो रहेछु

© प्रतीक घिमिरे

"चुरोट"

धेरै समय बाँच्यो भने,
नेपाललाई Switzerland बनाइदिन्छ कि भन्ने डाहाले,
भावीले मेरो भाग्य मै चुरोटे लेखेर पठाएछन्

बिगतका केही बर्षहरु,
उपत्यका बसाईसँगै आएका ति उमङ्गहरू,
धुलोमाण्डौको धुलोले भन्दा त,
मेरै चुरोटको धुवाँले धेरै फाइदा गर्छ होला,
कमसेकम आफ्ना बेदना त धुवाँ सँगै धमिल्याउन पाएको छु

सुरूवात: कसरी भयो, किन भयो?
केही पत्तो पाँइन,
कस्तो हुँदो रहेछ चाख्दिम् न त देखि शुरु भएको शिलशिला,
आज मेरो सुख र दु:खको सहयात्री बनिन्जेली सम्म,
साथीको मजाक भन्दा धेरै त,
मैले चुरोट कै धुवाँ उडाएँ होला

सानो परिवार: न कुनै पिडा न त कुनै तनाब,
न नै नभएको Girlfriend ले लगाइदिएको लगाम,
मैले यो अपवित्र बाफ लिने कुनै ठोस कारण भेटिन,
त्यसैले यो लतलाई लडाइदिने लय लगाएँ,
र म आज आकाशका यी चम्किला ताराका चरित्रको चित्रण गर्दै,
त्यही ठुटाको धुवाँले फोक्सो तिखार्दै सम्झीने गर्छु,
आजको दिन सम्म मैले चुरोट त छत्तीस चोटी छाडिसकेको रहेछु

त्यसैले पनि होला,
धेरै समय बाँच्यो भने,
नेपाललाई Switzerland बनाइदिन्छ कि भन्ने डाहाले,
भावीले मेरो भाग्य मै चुरोटे लेखेर पठाएछन्

औकात: रूपियाँ गोटा पर्ने Chocolate त खाने औकात छैन,
तर मेरा चुरोटका धुवाँ High Class का हुने गर्छन्,
छोरालाई राम्रो बनाउँछु भन्ने बाबाको सपना,
म आफ्नो औकात भुलेर पन्ध्र रूपियाँ खिल्ली पर्ने सुर्यको धुवाँसँगै उडाइरहेको छु,
चुरोट कै धुवाँमा आफुलाई पनि भुलाईरहँदा सम्झना हुने गर्छ,
बाबाले मेरो निम्ती त्यो श्याम स्वेत जीवनमा देखेका रङ्गीन सपना

आमाको मायाको कमी थिएन,
त्यै पनि खै किन ठुटालाई चुम्न पुगेँ,
आमाको औँला समात्ने यी हातले चुरोट समातेको,
दुध च्याप्ने यि कलिला ओठले चुरोट च्यापेको,
मेरी आमाले थाहा पाइन् भने उनको मनमा के बित्दो हो?
यस्ता चुरोट छाड्ने कल्पना पनि अचेल धुवाँसँगै हावा मै हराईरहेका छन्,
मेरा बाबा आमाका सबै सपनाहरू सपना मै सिमित भइरहेका छन्

मलाई पनि खिन्नता छ,
म आफ्नो अस्तु आफ्नै औकातमा अल्झाएर आफैँ उडाइरहेको छु,
सारा सपनाहरू स्वच्छ बाग्मतीमा बगाउँदै सेलाई रहेको छु,
तर मैले के नै गल्ती गरेँ र?
जीवन सल्की रहेको चुरोट नै त हो,
ताने पनि सकिन्छ, नताने पनि सकिन्छ

त्यसैले पनि होला,
धेरै समय बाँच्यो भने,
नेपाललाई Switzerland बनाइदिन्छ कि भन्ने डाहाले,
भावीले मेरो भाग्य मै चुरोटे लेखेर पठाएछन्

स्वाद बिनाको त्यो ठुटा कति तान्छस् हौ जस्ता कुरा त कति भलाद्मीका मुखबाट सुनियो,
तर ति ज्ञानीलाई के थाहा,
ओठमा चुरोट च्याप्दाको मज्जा केटीको गुलाबी गाला च्याप्दा नि पाइदैन भनेर,
ठुटा च्याप्दाको आनन्दता, ओठमा ओठ च्यापेर पाइने भए म किन कहैको कसम कुँधेर करामत देखाउथेँ होला र?

म त यो लतमा फसी सकेँ, त्यसैले भन्छु-
एक पल्ट चाख्ने बहानामा पनि कसैले चुरोट नचुम्नु किनकी यसको मोहनीले मध्यरात सम्म पनि मारिरहदोँ रहेछ,
भावीलाई दोषको भारी बोकाएर म त आफ्नो भाग्यबाट भागिसकेँ,
तर अब कसैले पनि यस्तो भुल गरेर आफ्नो जीवनलाई भुलभुलैयामा भङ्ग नगर्नु

अब फेरी म यी सबै कुराहरू कल्पना गर्दै कराउँछु,
अनि बाबाको बयान,
आमाको आशिर्वाद,
मेरी कालीको कसम र,
देशलाई आफ्नो अमूल्य अभाव सम्झिदैँ फेरी पनि,
सैँतीसौँ चोटी चुरोट च्यातेर,
भावीले लेखेको भाग्य भङ्ग गर्दै,
नेपाललाई Switzerland नभई समृद्ध नेपाल बनाउने सङ्कल्प सहित सपना साँचीरहेको छु

© प्रतीक घिमिरे

"हो, म Admin हुँ!"

हो, म Admin हुँ!

कहिले उताको Post १ मिनेट मै चोर्छु,
भएभरको Like एकैछिनमा सोर्छु,
कहिले १ दिन लगाएर आफै Post सोच्छु,
अरूको Record तोड्छु!

रातीको १२ बजे भनिन,
Troll गर्न आफ्नै बाउलाई नि छोडिन,
दुनियाँको गालीलाई वास्ता गरिन,
गाली खाएर खै त म अझै मरिन!

Page मा Post गर्न,
आमाको Mobile को Balance चोरिन कि,
Group मा Post गर्न,
आफ्नै खुत्रुके पो फोरिन कि!

Inbox लाई कहिले हेरिन,
माफिया Don लाई त टेरिन,
कोहिले Emotional बनाए,
कोहिलाई आफ्नो रिस खनाएँ!

मेरी मायालुको Message आउँदा,
म कुनै Meme बनाउँदै थिएँ,
साथिभाइले "ठूलो भईस्" भन्दा,
म Admin को जात जनाउँदै थिएँ!

ब्यस्त समयलाई फुर्सदिलो बनाउँदै,
टाउको कनाउँदै, नमुनाहरु माथि रिस खनाउँदै,
ठस्ठसी गनाउँदै, सबैलाई हसाउँदै,
Keep Smiling र Spread Love को Hashtag झुन्ड्याएर Post गर्ने,
हो, म एउटा Admin हुँ!

© प्रतीक घिमिरे