Sunday 15 September 2019

"आत्महत्या"

यो आत्मियता हराएको संसारमा आत्महत्या नगरी बाँच्न कसलाई पो मन छ होला र?
तर हामी त यो संसारलाई सजाउँदै सङ्घर्षी समय सिलाउदै हिडि रहेको छौँ

तिमी रोयौं तर किन?
तिमी रोयौं तर किन यस्तो रोकथाम खोज्यौ जस्ले अरू सबैलाई रुवायो,
तिमी मर्यौ तर किन यस्तो मदहोस बनायौ जस्ले अरू बाँच्दा बाँच्दै मर्न बाध्य भए

बुझ्छु तिमीलाई बाँच्न गाह्रो थियो होला,
अरूलाई बाँच्न सिकाउँने कति योद्धा त मरेर गए,
बुझ्छु तिमीलाई बाँच्न गाह्रो थियो होला,
तर कत्रो आँट देखायौ कि आफ्नै आत्माको हत्या आफैँले गर्यौ,
बुझ्छु तिमीलाई सहन गाह्रो थियो होला,
तर कत्रो साहस देखायौ कि आफ्नै शरीरको सलामी आफैले चढायौ

मैले भनेको थिएँ,
नसोधी आउनेले भन्दा नसोधी जानेले धेरै पिडा दिन्छन् भनेर,
तिमी आउदा त नसोधी आएको थियौ,
संगै कति उज्यालो ल्याएको थियौ,
अहिले जाँदा कसैलाई नसोधी सुटुक्क गयौ,
संगै कतिको उज्यालो लिएरै गयौ

किन सोचेनौ?
किन सोचेनौ तिमी नहुँदा तिम्रो आमाको काख कसले भर्छ भनेर,
किन सोचेनौ तिमी नहुँदा तिम्रो बाबाको काध कसले थाम्छ भनेर,
किन सोचेनौ तिमी नहुँदा तिम्रो साथीको साथ कसले समाउँछ भनेर,
किन सोचेनौ तिमी नहुँदा तिम्रो प्रेमीको प्रेम कसले पुकार्छ भनेर

बाँच्न त सजिलो छैन तर मर्न चै' गाह्रो भएन होला र?
आफुले आफैलाई चोट पुर्याउन त सकिँदैन,
तिमीले कसरी आफ्नो देहलाई सधैको लागि आफैले दबायौ?
तिमीलाई सबैले कातर भने होला,
तर सलाम छ तिम्रा ति सङ्घर्ष बिरोधी साहसहरुमा,
हृदय देखि सलाम छ!

साथ नपाए आऊ तिम्रो सारथी म बन्ने छु,
हात नपाए आऊ तिम्रो हितैषी म हुने छु,
आऊ संगै समस्यालाई साँघुरो बनाऔं,
तिम्रो सुखमा म मात्ने छु,
तिम्रो दु:ख म साट्ने छु

यो आत्मियता हराएको संसारमा आत्महत्या नगरी बाँच्न कसलाई पो मन छ होला र?
तर हामी त यो संसारलाई सजाउँदै सङ्घर्षी समय सिलाउदै हिडि रहेको छौँ

© प्रतीक घिमिरे