बसिरहँदा पनि चलिरहने यि जिन्दगीका पाईलाहरु,
न त घाम भन्छन् न त पानी,
न त थकाइ फेर्छन् न त बानी
उराठलाग्दा अध्यारो दिनहरूमा पनि हिँडिरहन्छन्,
उज्याला जुनेली रातहरूमा पनि कुदिरहन्छन्,
सिमसिमे झरिमा पनि दुगुरिरहन्छन्,
जबसम्म कला चट्याङले सेता बत्ती बाल्दैनन्,
तबसम्म कुरिरहन्छन्,
मेरा यि जिन्दगीका पाईलाहरु म बसिरहँदा पनि चलिरहन्छन्
भौतारिरहेको जिन्दगीमा धेरथोर ठेस लाग्दा,
कतिका पछि म भागे,
कति मेरा पछि लागे,
पिल्सिदै गएका ति ठेस लागेका घाउ टन्किदा,
दिनभरि मन रुवाए र रातभरि आँखा रसाए,
धेरै उतारचढाव टेकेका मेरा जिन्दगीका पाईलाहरु,
घरि काँडामा पनि रमाए, घरि फुलमा पनि हराए,
मेरा जिन्दगीका पाईलाहरु म बसे पनि आफु एक्लै हिँडिरहे
कहिले घुम ओढेर हिँडे,
कहिले कुम बोकेर हिँडे,
उकालाका गहिराइहरू पनि चढे,
ओरालाका उचाईहरू पनि झरे,
मेरा जिन्दगीका यि साहसी पाईलाहरु,
अमर छाप छोड्दै अनकन्टारमा अल्मलाए,
सहनै नसक्ने भएका जिन्दगीका पाईलाहरु,
मेरा पैतालाका डोबहरू मै पातलिए
बसिरहँदा पनि चलिरहने यि जिन्दगीका पाईलाहरु,
न त घाम भन्छन् न त पानी,
न त थकाइ फेर्छन् न त बानी
© प्रतीक घिमिरे
No comments:
Post a Comment