Tuesday 13 August 2019

"स्वर्गको राजधानी"

नमरि स्वर्ग देखिन्न रे
तर म त स्वयं स्वर्ग मै जन्मेको छु
स्वर्गको स्पर्श गर्न मान्छे विश्व धाउँछन् रे
तर म त यसको स्वर्णिम आनन्द लिन नेपाल मै बसेको छु

तर म अभागी छु नि
स्वर्गमा बसेर यसको राजधानीको सयर गर्न मैले पाएको छैन
म अभागी छु
नेपालमा बसेर पोखरामा मेरो मन पोख्न मैले पाएको छैन
बाध्यता हैन यो एउटा डर हो
कहीँ म पोखराको पखेंटामा लट्पटिएर लुप्त भए भने

यो त मात्र एउटा बाहाना हो
मलाई रहर छ
पोखराका तालहरूमा मेरा कैयौं सपना सहित डुबुल्की हान्ने
मलाई रहर छ
सिमसिमे पानीमा पोखराको मौसम जस्तै मेरो जवानी बदल्ने
मलाई रहर छ
पोखराका हिमालहरू झैं मेरो सपना पनि गगन चुम्बि बनाउने
मलाई एकदमै रहर छ

कहिले पाउँछु होला मैले
यो स्वर्गको राजधानीको सयर गर्न
कहिले पाउँछु होला मैले
बेगनास र फेवामा जिन्दगीको डुङ्गा खियाउन
कहिले पाउँछु होला मैले
साराङ्कोटको सुर्योदयमा आफु रमाउन
कहिले पाउँछु होला मैले

अहिले नै पुगौं पुगौं जस्तो भईसक्यो
प्याराग्लाईडिङ गर्दै पोखराको आकाश आफ्नो बनाउन
महेन्द्र गुफाको अध्यारोमा आफ्नो मनलाई बहकाउन
डेभिड फल्सको त्यो गहिरो खोँचमा आफ्नो कर्तुतहरु बगाउन
मलाई अहिले नै पुगौं पुगौं जस्तो भईसक्यो
शान्ति स्तुपाबाट नेपालमा शान्ति सन्देश फैलाउन
मलाई अहिले नै पुगौं पुगौं जस्तो भईसक्यो

नमरि स्वर्ग देखिन्न रे
तर म त स्वयं स्वर्ग मै जन्मेको छु
स्वर्गको स्पर्श गर्न मान्छे विश्व धाउँछन् रे
तर म त यसको स्वर्णिम आनन्द लिन नेपाल मै बसेको छु

© प्रतीक घिमिरे

No comments:

Post a Comment