Friday 13 December 2019

"मेरो आँखामा नेपाल"

उस्तै छ कोशीको कलकल,
र, मधेशको पसिना खलखल,
हरियाली र हसिलो सभ्यतामा,
तलाउको तातो पानी छलछल
मठ र मन्दिरको मसिनो मुस्कानमा,
मख्ख छन् आगन्तुक र पाहुना,
चिसो हावाको न्यानो सिरेटोलाई,
गुन्द्रुक र ढिंडोसंग मुछेर खाउन
तराई झरे पनि, हिमाल चढे पनि,
पुर्व उडे पनि, पश्चिम गुडे पनि,
सधै स्वच्छ र सफा छ मेरो देश,
काली उर्लिए पनि, कर्णाली कुर्लिए पनि
चन्द्रमा चुमेका सगरमाथा होस् चाहे सैपाल,
यस्तै छ मेरो आँखामा मेरो नेपाल!

मिलेर बसेका छन् हिन्दू, मुसलमान, क्रिस्टियन र सिख,
कसैले कसैको गर्दैनन् आरिस्, घमण्ड र ईख,
सारा संसारले मेरो देश नियालेको छ,
सबैले सिक्नैपर्छ नेपालबाट अब यो शान्तिको सिक
चार जात छत्तीस वर्णले विश्वलाई पुकार्दै छ,
"अतिथि देवो भवः"को गुणगान र महिमा संसारलाई सुनाउदै छ,
सबैले नेपालमा नौलोपनको आभाष गरून्,
"नेपाल भ्रमण बर्ष २०२०"ले सम्पूर्ण देशको दैलो ढक्ढक्याउदै छ
काठमाडौं, जनकपुर, मुस्ताङ होस् या पोखरा,
सबै ठाउँ घुमाउने छौं चाहे टापु होस् या चुचुरा,
एकै स्वरले सम्पूर्णलाई आव्हान गर्दै छौँ हामी,
उत्साहित छौँ स्वागत गर्न सिकाउँदै नमस्कार र कखरा
सबैको मनमा बसेको सुन्दर, शान्त, विशाल,
यस्तै छ मेरो आँखामा मेरो नेपाल!

चन्द्रमा चुमेका सगरमाथा होस् चाहे सैपाल,
सबैको मनमा बसेको सुन्दर, शान्त, विशाल,
यस्तै छ मेरो आँखामा मेरो नेपाल!

© प्रतीक घिमिरे

No comments:

Post a Comment