Tuesday, 13 August 2019

"बलात्कार"

तुहिनु पर्ने कोखले भूईं छोएछ
छोरी भएरै होला आज संसार रोएछ

फेरि पनि पत्रिकामा समाचार आएछ
बलात्कारको बुलेटिन मस्त छाएछ

आफन्तको यहाँ नजर गढिएछ
प्रहरी त मुख्य दोषी ठहरिएछ

६ महिनाकी शिशुको योनी फुटेछ
काल पर्खेकी हजुरआमाको विश्वास टुटेछ

रक्षक पनि हेर भक्षक बनेछ
कानुनले नै वाह! कानुन तोडेछ

मन भएकी चेलीको तन खोसिएछ
नामर्दहरूको आट यसरी नै पोसिएछ

समाज पनि यहाँ मौन बसेछ
उल्टै पिडित चेलीलाई दोष दिएछ

अझै पनि पुरूषार्थ्वको घमण्ड गरेछ
खै कुन मर्दपनको जोस अवला नारीमा पोखेछ

दाइत्व हैन उसले मौका ठानेछ
एकान्तमा घेरि आफ्नो दादागिरी छानेछ

सतीले सरापेको देश आज बलात्कृत नारीको बनेछ
सरकार अझै पनि ब्यस्त रमित हेरेछ

फेरि पनि पत्रिकामा समाचार आएछ
बलात्कारको बुलेटिन मस्त छाएछ

तुहिनु पर्ने कोखले भूईं छोएछ
छोरी भएरै होला आज संसार रोएछ

© प्रतीक घिमिरे

No comments:

Post a Comment