Tuesday 13 August 2019

"चुरोट"

धेरै समय बाँच्यो भने,
नेपाललाई Switzerland बनाइदिन्छ कि भन्ने डाहाले,
भावीले मेरो भाग्य मै चुरोटे लेखेर पठाएछन्

बिगतका केही बर्षहरु,
उपत्यका बसाईसँगै आएका ति उमङ्गहरू,
धुलोमाण्डौको धुलोले भन्दा त,
मेरै चुरोटको धुवाँले धेरै फाइदा गर्छ होला,
कमसेकम आफ्ना बेदना त धुवाँ सँगै धमिल्याउन पाएको छु

सुरूवात: कसरी भयो, किन भयो?
केही पत्तो पाँइन,
कस्तो हुँदो रहेछ चाख्दिम् न त देखि शुरु भएको शिलशिला,
आज मेरो सुख र दु:खको सहयात्री बनिन्जेली सम्म,
साथीको मजाक भन्दा धेरै त,
मैले चुरोट कै धुवाँ उडाएँ होला

सानो परिवार: न कुनै पिडा न त कुनै तनाब,
न नै नभएको Girlfriend ले लगाइदिएको लगाम,
मैले यो अपवित्र बाफ लिने कुनै ठोस कारण भेटिन,
त्यसैले यो लतलाई लडाइदिने लय लगाएँ,
र म आज आकाशका यी चम्किला ताराका चरित्रको चित्रण गर्दै,
त्यही ठुटाको धुवाँले फोक्सो तिखार्दै सम्झीने गर्छु,
आजको दिन सम्म मैले चुरोट त छत्तीस चोटी छाडिसकेको रहेछु

त्यसैले पनि होला,
धेरै समय बाँच्यो भने,
नेपाललाई Switzerland बनाइदिन्छ कि भन्ने डाहाले,
भावीले मेरो भाग्य मै चुरोटे लेखेर पठाएछन्

औकात: रूपियाँ गोटा पर्ने Chocolate त खाने औकात छैन,
तर मेरा चुरोटका धुवाँ High Class का हुने गर्छन्,
छोरालाई राम्रो बनाउँछु भन्ने बाबाको सपना,
म आफ्नो औकात भुलेर पन्ध्र रूपियाँ खिल्ली पर्ने सुर्यको धुवाँसँगै उडाइरहेको छु,
चुरोट कै धुवाँमा आफुलाई पनि भुलाईरहँदा सम्झना हुने गर्छ,
बाबाले मेरो निम्ती त्यो श्याम स्वेत जीवनमा देखेका रङ्गीन सपना

आमाको मायाको कमी थिएन,
त्यै पनि खै किन ठुटालाई चुम्न पुगेँ,
आमाको औँला समात्ने यी हातले चुरोट समातेको,
दुध च्याप्ने यि कलिला ओठले चुरोट च्यापेको,
मेरी आमाले थाहा पाइन् भने उनको मनमा के बित्दो हो?
यस्ता चुरोट छाड्ने कल्पना पनि अचेल धुवाँसँगै हावा मै हराईरहेका छन्,
मेरा बाबा आमाका सबै सपनाहरू सपना मै सिमित भइरहेका छन्

मलाई पनि खिन्नता छ,
म आफ्नो अस्तु आफ्नै औकातमा अल्झाएर आफैँ उडाइरहेको छु,
सारा सपनाहरू स्वच्छ बाग्मतीमा बगाउँदै सेलाई रहेको छु,
तर मैले के नै गल्ती गरेँ र?
जीवन सल्की रहेको चुरोट नै त हो,
ताने पनि सकिन्छ, नताने पनि सकिन्छ

त्यसैले पनि होला,
धेरै समय बाँच्यो भने,
नेपाललाई Switzerland बनाइदिन्छ कि भन्ने डाहाले,
भावीले मेरो भाग्य मै चुरोटे लेखेर पठाएछन्

स्वाद बिनाको त्यो ठुटा कति तान्छस् हौ जस्ता कुरा त कति भलाद्मीका मुखबाट सुनियो,
तर ति ज्ञानीलाई के थाहा,
ओठमा चुरोट च्याप्दाको मज्जा केटीको गुलाबी गाला च्याप्दा नि पाइदैन भनेर,
ठुटा च्याप्दाको आनन्दता, ओठमा ओठ च्यापेर पाइने भए म किन कहैको कसम कुँधेर करामत देखाउथेँ होला र?

म त यो लतमा फसी सकेँ, त्यसैले भन्छु-
एक पल्ट चाख्ने बहानामा पनि कसैले चुरोट नचुम्नु किनकी यसको मोहनीले मध्यरात सम्म पनि मारिरहदोँ रहेछ,
भावीलाई दोषको भारी बोकाएर म त आफ्नो भाग्यबाट भागिसकेँ,
तर अब कसैले पनि यस्तो भुल गरेर आफ्नो जीवनलाई भुलभुलैयामा भङ्ग नगर्नु

अब फेरी म यी सबै कुराहरू कल्पना गर्दै कराउँछु,
अनि बाबाको बयान,
आमाको आशिर्वाद,
मेरी कालीको कसम र,
देशलाई आफ्नो अमूल्य अभाव सम्झिदैँ फेरी पनि,
सैँतीसौँ चोटी चुरोट च्यातेर,
भावीले लेखेको भाग्य भङ्ग गर्दै,
नेपाललाई Switzerland नभई समृद्ध नेपाल बनाउने सङ्कल्प सहित सपना साँचीरहेको छु

© प्रतीक घिमिरे

No comments:

Post a Comment