Tuesday 13 August 2019

"काली"

काली गए गोरी आउने चलनले गर्दा पो रहेछ,
आकाशका काला तारा खस्दा पनि म मेरी कालीलाई नसम्झी गोरा सपना देखि रहदो रहेछु

पात्र एक, परिस्थिती अनेक
समय एक, सन्दर्भ अनेक
मायालु एक, माया अनेक
अनि, त्यही अनेक मायाले ल्याउने आँसु पनि अनेक,
हर्षका आँसु र हरेषका आँसु,
तर फेरी अनेक आँसुको अभिभावक त्यही एक

माया: शुरू शुरूमा माया रमाईलो जस्तो लाग्थ्यो,
बिस्तारै त्यो रमाईलो रहर बन्दै गयो,
अनि आज त्यही रहर रहस्य भएको छ,
मायाको मजाक उडाउने मान्छे त्यही मायामा मद्होस भएको छ,
त्यही मद्होसलाई मोहनी मानेर मायाको नाममा मरिरहेको छ,
शुरू शुरूमा मायालाई रमाईलो मान्ने मान्छे त्यही मायामा मरिरहेको छ,
यही रहेछ माया

हल्लामा हल्ली रहेको म हावा पनि अचेल मायामा हराईरहेको थिएँ,
वास्तै नगरी बिन्दास बस्ने मान्छे अचेल बेग्लै पारामा बाँचिरहेको थिएँ,
अनि यो सबै मायाको लक्षण हो भन्दै थिए साथीहरू,
मख्ख थिएँ म पनि, तर कुनै त्यस्तो कारण थिएन,
मात्र एउटी मोरीलाई मन पराएको थिएँ जुन मेरो औकातमा थिएन

त्यसैले होला,
काली गए गोरी आउने चलनले गर्दा,
आकाशका काला तारा खस्दा पनि म मेरी कालीलाई नसम्झी गोरा सपना देखि रहदो रहेछु

सपना देख्ने गर्थेँ, हामी सगैँ भएको, तर
पछि थाहा पाएँ,
सपना कहिले साँचो हुँदो रहेनछ भनेर,
पछि थाहा पाएँ,
सपना संध्यामा सुतेको बेला मात्रै सजिलै सजिदो रहेछ भनेर,
यो सपनालाई म के को संघ्या दिऊँ, म नै स्तब्द छु,
किनभने चोखो मायाको नाम दिदैँ मैले जीवन नै सपनालाई सुम्पिसकेको छु

कसरी भुल्छु होला, यिनै हात हुन्,
कुनै दिन तिमीलाई अङ्गालेको हुन्थीएँ,
अनि आज यिनै हात हुन् तिमीलाई भूलाउन दारू सम्हालेको हुन्छु,
थाहा छ मलाई, म गतल पाटोबाट गन्तब्यको बाटो खोजिरहेको छु,
तर थाहा हुदाँ हुदै पनि म केही गर्न सक्दिन किनभने मैले मेरी काली मै कालो भविष्य कल्पना गरिरहेको छु

काली, म तिमीलाई धन्य ठानौँ कि धन्यवाद दिएर मेरो ध्यानबाट निकालौँ?
म नै ढलपलमा छु,
धन्य छौ तिमी, कुनै दिन कसमले मेरो कुलत कटायौ,
अनि धन्यवाद छ तिमीलाई आजको दिन त्यही कुलतमा कुधिएर तिम्रै कसम काट्ने बनायौ,
धन्य छौ तिमी त्यसैले धन्यवाद छ तिमीलाई,
म अब गलिसकेको छु, त्यसैले गोसाईकुण्ड जस्तो गहिरो मायाबाट तिमीलाई गाईको पवित्र गोबरमा गाभिरहेको छु

यहि कारण पनि भयो अनि,
काली गए गोरी आउने चलनले गर्दा,
आकाशका काला तारा खस्दा पनि म मेरी कालीलाई नसम्झी गोरा सपना देखि रहदो रहेछु

सल्लाह मानेर सुने पनि हुन्छ अथवा हल्ला मानेर भूले पनि हुन्छ,
तर सकेसम्म बिचार मानेर बुझिदिए नै हुन्छ,
भन्दै छु म, फेरी पनि भावनामा डुब्दै छु म,
मायाको मझेरीमा मुछिएर कहिले पनि भविष्यको मन्जिल नभूल्नु किनभने,
मायाले मोह बढाउदो रहेछ तर त्यही मोह मारेर मध्यरातमा पनि उदाउन कहिले सिकाउदो रहेनछ,
त्यसैले भूल्दै छु म, दारू सगँ मिसाएर तिम्रो नशा भूलाउँदै छु म

मलाई अब केही पनि गुनासो छैन,
न त कुनै पिडा नै छ,
मख्ख छु, ढुक्क छु र भाग्यमानि पनि,
काली सगैँ मनका काला कत्ला कटाईरहेको छु,
करामत देखाउँदै काली सँगको सम्बन्ध कहाली लाग्दो बनाईरहेको छु,
र कालीको सबै कसम भूलेर गोरीको गहिराईमा गुमिरहेको छु

अचेल त मेरा काला सपना पनि Powder नघसी गोरा हुन थालेका छन्,
मेरा छाँया पनि छहारी खोज्दै छरिता हुन थालेका छन्,
काला बादलका काला ताराहरू पनि मुसुक्क हास्न थालेका छन्,
सायद उनि गोली भएरै होला,
मेरा जीवनका सबै अन्धकार झलमल्ल बल्न थालेका छन्,
नयाँ बाहार र उमङ्ग आएर होला,
दाँत र नङ समेत सेताम्य फुल्न थालिसकेका छन्

यी सबै कुराहरूले होला,
काली गए गोरी आउने चलनले गर्दा,
आकाशका काला तारा खस्दा पनि म मेरी कालीलाई नसम्झी गोरा सपना देखि रहदो रहेछु

© प्रतीक घिमिरे

No comments:

Post a Comment