Tuesday 29 December 2020

"सुगर फ्रि चिनी"

उसको निम्ति सबै स्वाद एकै हुन्, - नुनिलो, गुलियो, अमिलो, पिरो

ऊ ग्रिन टी पिउँछ सुगर फ्रि बिस्कुट लिन्छ उसले चिनीको स्वाद बिर्सन्छ जसरी सत्ता पाउँदा जनता बिर्सेको छ

ऊ यहाँ किसान कै गल्ती देख्छ
किनकी,
किसानका उखुले
कमिसनका सुगर फ्रि चिनी बनाउन सकेनन्!

उसको लागि सबै तरल पनि एकै हुन्, - पिसाब, पानी, पसीना, रगत

ऊ रङ्गहीन पानी पिउँछ
र, त्यस्तै पिसाब फेर्छ
उसले रगतको रङ्ग बिर्सन्छ
जसरी क्रान्ति पछि सहिद बिर्सेको छ

ऊ यहाँ पनि किसान कै गल्ती देख्छ किनकी,
किसानका पाखुराले
उसको पसिना काढ्न सकेनन्!

मानिस पनि एकै हुन् उसका निम्ति,
- ब्यापारी, बिचौलिया, किसान, कर्मचारी

ऊ सरकारबाट ब्यापारी चलाउँछ र, ब्यापारीबाट बिचौलिया
उसले किसान र कर्मचारी बिर्सन्छ
जसरी दरबार पाउँदा देश बिर्सेको छ

यहाँ पनि ऊ कतै किसान कै गल्ती पो देख्छ कि?

खैर, कति अर्काको दोष देख्नु,
बरू सोचौँ-
यहाँ "ऊ" चाहि को होला त?
म, तपाईं कि हामी?

© प्रतीक घिमिरे

Wednesday 23 September 2020

"सम्झनामा: स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरे!"

रहन्छ सदैव प्रेरणा छ साथ

मृत्यु छ सबको एकदिन काख

गाउँदै छ जगतले गुनगान गाथ

हामी छौँ तिम्रै शरणमा छ माथ


सम्झना छ यो शक्तिको सगर

तिमी बिना रह्यो वाङ्मय बगर

केको छ यहाँ किन पो छ कहर

अर्पिने यो टुक्रा चरणमा छ रहर


मर्दैन कृति मरे पनि शरिर

नतमस्तक छौँ हामी तिम्रै हौं फकिर

जन्मोत्सवमा हेर सबै छन् सरिक

सम्झनामा रुन्छ हृदय हरेक


© प्रतीक घिमिरे

Thursday 9 April 2020

"अभागी कामको भाग्यमानी माम"

कस्तो भाग्यमानी म!
जनआन्दोलन ताका टायरको मुस्लो खाएं,
खाएं अश्रुग्याँसको पिरो पनि

म कस्तो भाग्यमानी!
भुकम्प ताका हजारौं लाशको धुवाँ खाएं,
खाएं लाखौं ढलेका संरचनाको धुलो पनि

तर, आज म कस्तो अभागी भएको छु!
चीलगाडि उड्ने आकाशमा चील उडेको देखिरहेको छु,
भक्त उभिने मन्दिरमा भगवान एक्लै जिल परेको देखिरहेको छु

कस्तो अभागी भएको छु म!
मान्छे हिड्ने आलीमा लामा-लामा झार पलाएको देखिरहेको छु,
कार गुड्ने बाटोमा जनावर बेकार रन्थनिएको देखिरहेको छु

यो अभागी र भाग्यमानी बिचको बिन्दुमा,
जिन्दगी नै उथुल-पुथुल हुने स्थितिमा पुगेको छु!
आन्दोलन बिना कर्फ्यु पालना गर्ने दिन भोगेको छु,
दशैं नै नआई गाउँघर फर्किन रिन बोकेको छु

यो मेरो संसार हैन!
मेरो संसारमा त,
सूर्यको रापै थाहा नहुने गरि धुवाँ बसेको छ,
जूनताराको तापै थाहा नहुने गरि धुलो जमेको छ

पूर्व मेचीबाट पश्चिम महाकालीको सेतो क्षितिज देखिने,
यो मेरो संसार हुँदै हैन!
मेरो संसारमा त,
हावाको वेग समेत कालो उडेको छ,
खोलानालाको आवेग समेत पहेँलो सुकेको छ

हे जगत जननी प्रकृति धर्ती माता!
अब मैले,
सूर्यको सफा राप पनि तापें,
जूनताराको शान्त ताप पनि तापें,
हावाको स्वच्छ वेग पनि छोएं,
खोलानालाको सुन्दर आवेग पनि धोएं

अब मलाई मेरै संसारमा फर्काई देऊ,
उराठलाग्दो सहरमा फेरि मान्छेको भेल बगाई देऊ,
यो सफा, स्वच्छ, सुन्दर वातावरणमा,
न त मेरो हक छ, न‌ त मेरो अधिकार छ,
न त मेरो बानी छ, न‌ त मेरो औकात छ

म पापले पखालिएको अभागी काम गर्ने मान्छेलाई भाग्यमानी माम नदेऊ,
म फोहोर कर्म गर्ने मान्छेलाई सफा फलको खाम नदेऊ

© प्रतीक घिमिरे