Tuesday 29 December 2020

"सुगर फ्रि चिनी"

उसको निम्ति सबै स्वाद एकै हुन्, - नुनिलो, गुलियो, अमिलो, पिरो

ऊ ग्रिन टी पिउँछ सुगर फ्रि बिस्कुट लिन्छ उसले चिनीको स्वाद बिर्सन्छ जसरी सत्ता पाउँदा जनता बिर्सेको छ

ऊ यहाँ किसान कै गल्ती देख्छ
किनकी,
किसानका उखुले
कमिसनका सुगर फ्रि चिनी बनाउन सकेनन्!

उसको लागि सबै तरल पनि एकै हुन्, - पिसाब, पानी, पसीना, रगत

ऊ रङ्गहीन पानी पिउँछ
र, त्यस्तै पिसाब फेर्छ
उसले रगतको रङ्ग बिर्सन्छ
जसरी क्रान्ति पछि सहिद बिर्सेको छ

ऊ यहाँ पनि किसान कै गल्ती देख्छ किनकी,
किसानका पाखुराले
उसको पसिना काढ्न सकेनन्!

मानिस पनि एकै हुन् उसका निम्ति,
- ब्यापारी, बिचौलिया, किसान, कर्मचारी

ऊ सरकारबाट ब्यापारी चलाउँछ र, ब्यापारीबाट बिचौलिया
उसले किसान र कर्मचारी बिर्सन्छ
जसरी दरबार पाउँदा देश बिर्सेको छ

यहाँ पनि ऊ कतै किसान कै गल्ती पो देख्छ कि?

खैर, कति अर्काको दोष देख्नु,
बरू सोचौँ-
यहाँ "ऊ" चाहि को होला त?
म, तपाईं कि हामी?

© प्रतीक घिमिरे