Tuesday 13 August 2019

"युवा"

चालीस कटेका राजनीतिक युवाले लथालिङ्ग फालेको मेरो देश
अब हामी कल्कलाउँदा कोपिला युवाले लटरम्म फलाउनु पर्छ

युग बदल्ने सामर्थ्य बोकेको युवा
आज आफ्नो देश बदल्न नसकेर
अर्काको देशमा दासी बनेको छ

करोडौँको रेमिट्यान्स भित्र्याउन सक्ने युवा
आज अर्काको देशमा
ज्यानको बाजी जित्न नसकेर
कालो काठको बाकसमा कुण्ठिएको छ

पढ्न‌ भनेर अमेरिका, अस्ट्रेलिया गएका मेरा देशका युवा
आज ग्रिनकार्ड र पिआरको लोभमा
नेपालको नागरिकता नष्ट गर्न‌ लाचार भएको छ

हे नेपालका नौजवान हो,
तिमी विदेश जाऊ तर फर्केर आउ
त्यति बेलै फर्क जब तिमी मुलुकको मुहार फर्काउन सक्छौ
त्यति बेलै फर्क जब तिमी मुलुकको मुहार फेर्न सक्छौ
मेरो जन्मस्थल प्यारो भन्दै मर्ने बेला हरियो काक्रो खान नआउ
बुढेसकालमा जीवनको भारी बिसाउन नेपाललाई बाझो बारी नबनाउ
तिमी सिप सिकेर आउ
तिमी ज्ञान लिएर आउ
बनि सकेका मुलुक बनाएर के गर्छौ? आउ अब हाम्रो मुलुकको मुल्य बढाउ

तिमी गरेर त हेर
आफ्नै देशमा बसेर त हेर
कस्ले भन्छ परिवर्तन सम्भव छैन भनेर?
मलाई विश्वास छ मेरा युवाका तराई जत्रा विशाल सोचाइहरूमा
मलाई विश्वास छ मेरा युवाका पहाड जस्ता अटल दृढ संकल्पहरूमा
मलाई विश्वास छ मेरा युवाका हिमाल जस्ता गगन चुम्बी सपनाहरूमा
मलाई विश्वास छ मेरो देशको यो सिङ्गो युवा पिँढीमा

तिमी परिवर्तन चाहन्छौँ
त्यसैले,
तिमी केही सँग नडराउ
तिमी कोही सँग नडराउ
स्वर्गको स्पर्श गर्न मन छ भने
तिमी मर्न पनि नडराउ
सपना साकार पार्न मन छ भने
तिमी लड्न पनि नडराउ

हाम्रो मस्तिष्कमा मेची देखि महाकाली लुकेको छ
हाम्रो मुटुमा चन्द्र र सूर्य झुल्केको छ
आउ यो बुद्धको देशमा शान्ति फैलाउ
आउ यो सीताको देशको चरित्र बनाउ
आउ यो सगरमाथाको देशको शिर ठड्याउ
आउ सबै मिली यो मुलुकको मुहार मौलाउ

तिमी राजनितीमा आउ
तिमी देश हल्लाउ
फोहोर भनिएको राजनितीलाई
तिमी फराकिलो बनाउ
एउटा युवाको माग एउटा युवाले नै बुझ्न सक्छ
यो भष्ट्रै भष्ट्रको बिचबाट तिमी एउटा भरोसा उदाउ
बन्द बाट हैन तिमी Ballot बाट देश बनाऊ

त्यसैले,
चालीस कटेका राजनीतिक युवाले लथालिङ्ग फालेको मेरो देश
अब हामी कल्कलाउँदा कोपिला युवाले लटरम्म फलाउनु पर्छ
अर्काको भरमा बाँचेको मेरो देश
अब सबै युवा मिली आत्मनिर्भर बनाउनै पर्छ
अब सबै युवा मिली आत्मनिर्भर बनाउनै पर्छ

© प्रतीक घिमिरे

No comments:

Post a Comment