कस्तो भाग्यमानी म!
जनआन्दोलन ताका टायरको मुस्लो खाएं,
खाएं अश्रुग्याँसको पिरो पनि
म कस्तो भाग्यमानी!
भुकम्प ताका हजारौं लाशको धुवाँ खाएं,
खाएं लाखौं ढलेका संरचनाको धुलो पनि
तर, आज म कस्तो अभागी भएको छु!
चीलगाडि उड्ने आकाशमा चील उडेको देखिरहेको छु,
भक्त उभिने मन्दिरमा भगवान एक्लै जिल परेको देखिरहेको छु
कस्तो अभागी भएको छु म!
मान्छे हिड्ने आलीमा लामा-लामा झार पलाएको देखिरहेको छु,
कार गुड्ने बाटोमा जनावर बेकार रन्थनिएको देखिरहेको छु
यो अभागी र भाग्यमानी बिचको बिन्दुमा,
जिन्दगी नै उथुल-पुथुल हुने स्थितिमा पुगेको छु!
आन्दोलन बिना कर्फ्यु पालना गर्ने दिन भोगेको छु,
दशैं नै नआई गाउँघर फर्किन रिन बोकेको छु
यो मेरो संसार हैन!
मेरो संसारमा त,
सूर्यको रापै थाहा नहुने गरि धुवाँ बसेको छ,
जूनताराको तापै थाहा नहुने गरि धुलो जमेको छ
पूर्व मेचीबाट पश्चिम महाकालीको सेतो क्षितिज देखिने,
यो मेरो संसार हुँदै हैन!
मेरो संसारमा त,
हावाको वेग समेत कालो उडेको छ,
खोलानालाको आवेग समेत पहेँलो सुकेको छ
हे जगत जननी प्रकृति धर्ती माता!
अब मैले,
सूर्यको सफा राप पनि तापें,
जूनताराको शान्त ताप पनि तापें,
हावाको स्वच्छ वेग पनि छोएं,
खोलानालाको सुन्दर आवेग पनि धोएं
अब मलाई मेरै संसारमा फर्काई देऊ,
उराठलाग्दो सहरमा फेरि मान्छेको भेल बगाई देऊ,
यो सफा, स्वच्छ, सुन्दर वातावरणमा,
न त मेरो हक छ, न त मेरो अधिकार छ,
न त मेरो बानी छ, न त मेरो औकात छ
म पापले पखालिएको अभागी काम गर्ने मान्छेलाई भाग्यमानी माम नदेऊ,
म फोहोर कर्म गर्ने मान्छेलाई सफा फलको खाम नदेऊ
© प्रतीक घिमिरे
No comments:
Post a Comment