बाँदरले नरिवल पाउँदा जस्तै-
आज निकै खुसी छु म
किनकी,
जीवनमा पहिलो पटक मैले पदक थापें!
परिश्रम बिनै,
मेहनत बिनै,
घरमै बसि-बसि,
दुई/चार शब्द लेखि-लेखि,
मात्रै:
नेपालको संविधान पढि-पढि
मैले पदक पाएँ- "देशद्रोही"को!
चेस्मा लाउँदा नदेखेको,
लाल्टेन बाल्दा नभेटेको,
खोज्दै छु म अनुसुची र धारा!
हे सरकार,
बताइदे मलाई यो "देशद्रोही"को के छ अभिभारा?
संविधान-
म त पढ्दै गर्छु, पढाउँदै गर्छु
आफु जस्तै सारा देश प्रेमीलाई,
देशद्रोही बनाउदै गर्छु।
केही थान प्रदर्शन पछि:
म रमाउँने छु,
हामी रमाउँने छौँ
किनकी,
हरेक नेपालीले संविधान पढ्ने छन्,
सबैले सम्मानित पदक पाउने छन्
अनि त,
केवल एकै नारा घन्कने छ-
"म पनि देशद्रोही!"
"हामी पनि देशद्रोही!"
© प्रतीक घिमिरे
Nice bhanja babu....
ReplyDelete